Memories Part-1 By Tmaya Rai

बाबा जन्मेको गाउँ ठाउँ हेर्ने उत्सुकताले मलाइ संधै गाउंतीर नै तानी रहन्थ्यो |टिभी रेडियोले जती फुक्यो, त्यती मात्रै थाहा थियो गाउंको बारेमा, एस एल सि को रिजल्ट राम्रो निक्लेकोमा हर्षले गदगद, मैले जे भन्यो त्यहि पुर्याइदिने बाबा आमाको खुसीको सीमा भित्र त्यसै त्यसै असिमीत हुन मनलाग्यो मलाइ | खासमा मैले स्कुटरको डिमान्ड राखेकी थिंए ”स्कुटर चाहिँ हुन्न एक्सिडेन्टको खतरा हुन्छ भन्नु भो” !!!!

स्कुटरको माग पुरा नभएपछि गाउँ जाने इच्छा जाहेर गरें, बाबाले हुन्छ भन्नु भो , काका र म गाउँ जाने भयौं | दशैंको टिकाको भोलिपल्ट नै हामी गाउंतीर रवाना भयौं |मुग्लीनमा खाना खानको लागि बस रोकियो |थरि थरी होटेल बसमै लिन आए कती त , हाम्रो काका नि के कम तरुनी देखेर मख्खै , अब मेरो के लाग्थ्यो र मैले केही भनीन, आखिर मलाइ त भोक संग न मतलब थियो | भात र तर्कारीको भोक त झन छुट्टै हुंदो रैछ, त्यो कस्तो हुन्छ भन्ने कुरो त उहि नेपाली मनले मात्रै जान्दछ ।

भात दाल तर्कारी अचार खन्डे थालीमा सजिएर आए , चम्चा कांटा नि साथै , आफुलाइ भने हातले मुछ्दै नखाएसम्म चित्तै नबुझने त्यसैले कांटा चम्चालाई साइड लाएर हातले दिन थाले,”सबै मीठो रहेछ” भने , नमिठो लागेको भए चुप लागेर बस्ने थिंए , राम्रो कुराको सधैं प्रसंसा गर्ने बानी मेरो , तर अहिले त हिम्मत तोडने धेरै हौसला दिने कम हुन्छ्न ।

खाना खाइवरि पुन बस चढ्यौं | ठाउँ ठाउँमा
पिसाब दिशा गर्न रोकेपनि अरु बेला भने गाडी गुडी नै रह्यो, भोटेओडार बिसाउनी थियो तर डुम्रे भन्दा उता जान सकेन | भारी बर्षाको कारण जता हेर्यो पानीको ताल, गाडी त गुड्न छोडेर पानीको तालमा पौडन पो थाल्यो , इंन्जीनमा पानी पसेर गाडी बिग्री गएछ ,बिचरा ड्राइबर र खलासी मरिमरि गाडी बनाउन तिर लागे | सबै तमासा हेर्ने मात्रै , अहिले सोंच्छु तमासा हेरेर समय फाल्नु भन्दा,यदि सबै मिलेर सहयोग गरेको भए त्यो गाडी कती छिट्टो बन्थ्यो होला, पुग्नु पर्ने ठाँउमा पनि समयमै पुगीन्थ्यो!!

करिब दुई तीन घन्टा पछि एउटा ट्रक आएर रोकीयो, हामी त्यसैमा गुन्द्रुक खांदिए झैं खांदियौ र पनि जहां पुग्नु पर्ने थियो पुगी छोड्यौं। भोटेओडारमा झर्यौं तर पर्स नै गायब, चोरी पो भएछ, दशैंको दक्षिणा , आमाले दिनु भाको पैसा सब चोरी भएछ । रात छिप्पीसकेको थियो ,त्यहि माथी भोक त्यस्तै पुलीस रिपोर्ट भोलि गरौं भन्न थाल्नु भो काकाले मैले नि त्यसैमा सहमती जनाए ।

हाम्रो फूपू पर्नेको लजमा बस्ने निधो गर्यौं, खाना साना खाइवरि सुत्यौं | झिसमिसेमै उठाउनु भो, ”ह्या काका पनि ,हेर्नू त अझैं अंधेरो छ एकछिन सुत्न दिनु के” भन्दा नि मान्नु भएन | ”होइन अहिले हिंडिएन भने गाउँ पुगीन्न, म एक्लैको कुरा थियो भने त तीन चार घन्टामा नै पुग्नें थिंए तर तिमीलाई त आज कतै बाँस नबस्ने तरिकाले लानु छ ,त्यसैले उठ , चिसो पानीले मुख धो निंद्रा सबै हराउंछ, छिटो गर” भन्नु भो | उठें मुख सुख धोंए ,अनि फुपुले चिया खाजा बनाइदिनु भो, ”फिकर नगर म रिपोर्ट गरिदिन्छु ,मैले चिनेको पुलीस छ एकजना, बरु नानी पो कसरी हिंड्ने हो त्यत्रो टाढा” , ”अब सक्नु परेन त फूपू त्यसैको लागि नै आएपछि”,” ल ल राम्रो संग गएर आइज नि ”भन्नु भो फुपुले !!!

काकाले टन्नै सामान बोकेर आउनु भाकोथ्यो ,साथमा एउटा लाल्टिन पनि, ”ल यो चाहिँ तैंले बोक हलुका छ” , मैले लालटेन लिंदै ”हुन्छ” भने , केही नदेखिने चुक पोखिए जस्तो रात, आधी रातमा पानी परेर बाटो हिलाम्मे , काका अगाडि अगाडि म पछि पछि, मर्स्याङदि नदी सुसाइ रहेको सुन्न सकिन्थ्यो ,चिप्लेर लडें ”काका” भन्दै रुन थालें, ”हिंड्न सुरु गर्या छैन लड्न थालीसकि ,अब यसलाई कसरी गाउँ सम्म पुर्याउने हो मैले” भन्दै टर्च बालेर लाल्टिन खोज्न थाल्नु भो | ”लौ हिंड” भन्नु भो, यसपटक भने लाल्टिन नि काकाले नै बोक्नु भो । ”नानी यताबाट धेरै उकालो पर्छ, यसरी जाउं तेर्सो पर्छ” , आफुलाइ के उकालो के तेर्सो सबै एकै जस्तो, स्वां स्वां र फ्वां फ्वां हुन छोडे पो, हिंडदै गर्दा काकालाइ नि सारै परेछ, कि के हो एउटा भारी बोक्ने खोज्नु भो | ती दिदी बिचरी लोग्नेलाई कराउंदै ”जे सुकै गरि मोर ”भन्नु भो र हामी संगै हिंड्न थाल्नु भो |” किन कल्लाइ हो र त्यस्तो कराउनु भाको” मैले सोधिहालें |”को हुनु नि मेरै लोग्ने भनौंदोलाई कराको नि, टन्न कुकुरको मुत धोकेर आउंछ , केही सघाउंदैन जता नि आफैं”, ”ए त्यसो हो भने त छोडदिनु न त त्यस्तालाइ दिदी”, हुन त हुन्थ्यो नि बहिनी, के गर्नु शहर होइन यो गाउँ पर्यो फेरि त्यस्माथी भकाभक चार वटा नानी जन्मीए| मैले उनको आशयलाई बुझेर बातलाई लम्ब्याइन | केही नभनी चुपचाप हिंडि नै रहें, ”म त सक्दिन एकछिन भएनी थकाइ मार्छु” भन्दै टुसुक्क बसेको मात्रै के थिंए, ”होइन हौ, यस्तो तालले त कहिले पुग्ने हो ”भन्दै डांडाको टुप्पो बाट बोलाइन , तर मैले वहाँको आवाज मात्रै सुन्न सकें त्यतीबेला, त्यत्रो भारी बोकेर नि त्यस्तो उकालोमा दौडिन सक्ने त्यो दिदीलाई हेरेर म दंग पर्थें ।”म त गौंडा सम्म मात्रै जान्छु, है भाइ बहिनी त्यहां भन्दा पर जान्न” , ”ल ल त्यहिं जानू भएर भारी बिसाउंदा हुन्छ फलानालाइ चिन्नु हुन्छ दिदी”, ”अं चिन्छु नि भाइ” , ”हो त्यहिं राखीदिनुस, है सामान” भन्नु भो र पैसा निकालेर दिनु भो काकाले, ”अलि दिनुन काका, भारी नबोक्दा त हामीलाइ कती गाह्रो परिराको छ, दिदी त झन भारी संगै यत्रो उकालो हिंडदै छिन , सेक लाग्छ अझै दिनु , मेरो पैसा चोरी नभाको भए मै दिने थिंए” | ”अं गाउंमा बस्ने मान्छेलाई यहि कती हो कती कुरा गर्छेस”| लौ खुरुक्क दिने भए दिनु केरे, नत्र मलाइ बोकेर लानु हुन्छ कि छोडनु हुन्छ यो भन्दा अगाडी पाइला सार्दीन भने, यो संग नि नसकिने भो भन्दै मैले भने जती नै दिनु भो, मख्ख परिन दिदी , मेरो मन नि हलुको भो ।

”काका अब कती छ”,”उ त्यो डांडा देख्यौ, ठ्याक्कै त्यो डाँडा कटेपछी हाम्रो गाउँ ”, भन्नु हुन्थ्यो | ए हो र भन्दै बल्ल बल्ल त्यहां पुगीन्थ्यो | ”अनि खै त गाउँ” भन्दा ,”होइन हौ ,मैले त उ त्यो डांडा पछाडी पो भनेको त”, फेरि बलैले त्यहाँ सम्म पुग्यो ,फेरी अर्कै डाँडा, त्यस्तो डांडा त कती काटीयो काटीयो | अब त सोध्न पनि छोडिसकेको थिंए, सहि उत्तर पाए पो सोध्नु? ”काका” भन्दै बेलाबेलामा उफ्रन्थे,” ”के भो ”भन्दा आँखा चिम्लेर जुकाले टोक्दै गरेको ठाउँ देखाउंथे | काकाले टिपेर फ्यांकीदिनु हुन्थ्यो , जुका टिपेर हैरान परेको काकालाइ झोंक चलेछ क्यार ! ”होइन यो काठमान्डुको मान्छेलाइ त नचिन्नु नि हौ यो जुकाले पनि , तं पनि अलि छिटो छिटो हिंड के, अनि जुकाले नि भेट्न सक्दैन,” काकाको कुरा मानेर छिटो छिटो हिंडन थालें,नभन्दै छिटो हिंड्न सके जुका लाग्दैन रैछ !!!

गौंडा भन्ने ठाउं आइपुग्यौं त्यहां नि फुपुकै घर पर्दो रैछ |खाना खाइवरि ,भरिया दिदीले छोडीदिनु भाको भारि बोक्दै काकाले , ”लौ पछि भेटौंला है” भन्नु भो गुरुङ्ग भाषाबाट , तर म गुरुङ्ग भाषा नबुझ्ने गुरुङसेनी परे |आखिर बुझोस पनि त कसोरी, आमा बाबा दुवै फरक जातका परे |घरमा खस भाषाकै चलन चल्ती ,कैं चवा पैदु आच्यौँ निच्यौँ पाते ठागु मैले जानेका गुरुङ्ग शब्दहरु यती नै हुन भन्दा आफैंलाइ नै लाज लागेर आउँछ |आखिर जान्न
सके कुन भाषाले काम दिंदैन होला र !अनि भाषा जस्तो राम्रो कुरो अरु के छ होला र ,आफ्नो भावना व्यक्त गर्न सक्ने माध्यम आफैंमा कती बिराट छ ,सुन्दर छ अनि सक्षम पनि !!!

फुलनगिरी पुग्नु अगाडी नै अर्को काका पर्ने भेट्यौं , नेपाल आर्मीमा सेवारत काका पनि दशैं मान्न आउनु भाको रैछ | ”लौ यो फलानी होइन, तरुनी पो भइसकीछ ”|” मलाई चिन्यौ” , ”चिनीन त” भन्दै टाउको हल्लाए | ”के चिन्थ्यौ त , छ सात बर्षकी हुँदी हो त्यती बेला देखेकी , आज काकाको मै बस्नु पर्छ ल ” , कहां बिसाउं जस्तो भाको बेला,एकै सासमा हुन्छ भनी दिँए , कहां हुनु ,आज गाउंमै पुग्नु पर्छ ,अब यहांबाट त कती नि छैन अर्को काका भन्दै हुनुहुन्थ्यो तर काका एक्लैको के चल्थ्यो र !!!!

टन्न पेट अनि थकानले गर्दा छिटै निंद लागी गएछ |नाच गानको आवाजले ब्युंझीए |म गाको चाल पाएर नै नाच गान गरेका रैछ्न | उठन मात्र के लाग्या थिंए, मेरो खुट्टा मेरै भएन , यती गार्हो भो की खुट्टा टेक्नलाइ ,खुट्टा सबै पोको परिगाको भान हुन्थ्यो तर पनि जबर्जस्ति बिस्तारै बिस्तारै भएनी काठको लिस्नु झरें |खोपीमा टुकी बत्ती बालीएको रैछ त्यसैले अँध्यारो भएर नि पुरै अंध्यारो थिएन ।आगनमा एक जमात मान्छे कोही नाचीरहेका कोही गाइरहेका , नाच्न गाउन दुबै जानेका, म गुरुङ गीत बुझ्दिन नेपाली गीत नै गाउनु है भनें, ”सिम सिम पानी” , ”पानको पात” यस्तै यस्तै थुप्रै
गीत गाए तर म संग पैसा थिएन काकाको कन्जुस्याइलाइ नि बुझ्न सक्थें , जती काकाले दिनु भो हिश्रीक्क परे सबै, फलानाको छोरी हो नि कहां यतीले मान्छौ, भनेपछि पैसा चोरी भएको कुरा बतायौं , एकजनाले त प्वाक्कै भनी पनि हालिन ,हेर हेर दिनु पर्छ भनेर बहाना बनाएको” ,
मैले केही भनीन किनकी सांचो कुराको लागि किन पो सफाइ पेस गर्नु पर्यो र?

हामी गाउँ पुग्नु अघि सांगो तर्नु पर्ने रैछ, कम्ता डर लागेन ,सांगो नि मक्किएको, काकाले पारी पुगेर बोलाउंदै हुनुहुन्थ्यो मेरो पाइला सरे पो, काका फेरि म भएतिर आउनु भो ,”आँखा चिम्ली अनि समात मलाई” भन्नु भो र मैले त्यसै गरें बल्ल बल्ल त्यो सांगो तरियो !!!!

सांगो तर्ने बितिक्कै आधा घन्टा जतीमा त गाउँ आइहालीयो, प्रधान पन्च काकाको बाबा ,वहांको रवाफ बेग्लै फेरि , भिमकाय जिउ भाको बाजे देखेर ,डर पो लाग्थ्यो मलाई त, तेर्ह जना छोराछोरीको आमा हाम्रो बज्यै, सबै जिवीत भए अझ झन सोर्ह जना पुग्थे अरे , कत्रो ठुलो परिवार, दशैं ताका धेरै जसो भेला भएको अवस्था, एउटा कुखुरो काटियो भने, भागमा त उहि एक दुई चोक्टा मात्रै, अरु सबै झोलै झोल, सबै मीठो गाउंघरको तर चामल चाहिँ मनपरेन|निलो हरियो रातो अछेता जस्तो चामल त्यहि माथी गन्हाउने के चामल होला त्यस्तो, तर्कारीमा झोलै झोल ,भातको गती त्यस्तो, महिनौं बस्छु भनेर चम्केको मान्छे हप्तामा झरें , ”बरु म ढिंडो खान्छु” भने किनकी ढिंडो नै मीठो होला जस्तो लाग्यो ,नभन्दै त्यो चामलको भात भन्दा त, ढिंडो कती मीठो मिठो , त्यस्पछी हरियो भटमास उसिन्दै खांदै, अब खाएपछि त हग्नै पर्यो |

फुपुको पछि पछि लागें टोइलेट जानलाइ , ”फुपु कहाँ हो र टोइलेट ,यती टाढा आइसक्यौं त ”, ”अब अलिकती छ नानी” भन्दै थिइन , केही समय पछि फुप रोकिन र मकै बारी देखाउँदै ”अलि भित्र गएर गर जाउ” भन्नु भो |”गाउँ घरको टोइलेट यस्तै हो नानी सबैले यसरी नै गर्छ्न” भन्नु भो | म त छ्याङ भए ,ओहो भन्ने जस्तो लाग्यो , सर्पको डरले फुपुलाई हेर्दै थिंए गु को थुप्रो माथी टेकीगएछ चिप्लेर लडें | हग्न गाको मान्छे रे उल्टो अर्कैको हगाईमा पो परियो| ”छि छि र थु थु” गर्दै नुहाउनलाई फर्किए |नुहाइ धुआइ गरेर फेरि फूपू संग गए, यो पाली भने जोगिंदै हग्न बसें, तर के ले छोए जस्तो भयो | आतिंदै ”जुक्का टांसीयो ”भन्दै रुन थालें |” खै देखा त” भन्नु भो फुपुले ,लाज भन्दा नि साँच्चैको जुका झुन्डिएको रैछ भने के गर्नु जस्तो लाग्यो र देखाइ दिँए | जुका देखेर कम डर लाग्दैनथ्यो मलाइ,”नानी केही छैन त ,पातले छोको होला जाउ जाउ फेरि गर” भन्नु भो | म चाहिँ अब कुनै हालतमा नि गर्नेवाला थिइन, खपेरै बस्छु भन्ठाने, तर चार दिन पछि त के को थाम्न सक्नु र ”फूपू मलाई जोर ले आयो”, हिंड भनेर आगन मै गर्न लाउनु भो | ”अनि आगनमै कसरी गर्नु” , ”अं अं चुप लाएर गर अहिले उठने बेला भाछैन सबै मस्त निन्द्रामा छन” कोदालो हातमा लिंदै भन्नु भो |खान नपाउँदा मात्रै होइन खाएर हग्न नपाउँदा नि निकै पो गार्हो हुंदो रैछ भन्ने त्यस बेला देखि राम्रै बुझीयो ।

पानी भर्दै हुनुहुन्थ्यो फुपु ,म फुपु संगै थिंए ,बाबाको सोल्टी पर्ने हामी वहांलाइ सोल्टी मामा भन्थ्यौं |,”ओइ फलानी यस्तो ठाउँमा के खान आइस हँ ”, सोल्टी मामाको रुखोपन र अश्लील शब्दलाइ नझेल्ने को होलान र ? झेल्ने मात्रै होइन ,हामीले त पचाइ पनि सकेका थियौं | केही बर्ष सम्म हामी संगै बस्नु हुन्थ्यो |पछि आफ्नै गाउँ फर्किनु भो, कसैलाइ छोरा नभएर पीर मामालाइ चाहिँ छोरी नभएर पीर, पांच जना जन्माइन माइजुले तर सबै छोरा नै छोरा | ”ओइ अनि
तैंले कती पढिस”, ”एस एल सि पास गरेँ मामा,” ”चोरेर पास भइस कि पढेर पास भइस हं ?” अब भने चाहिँ कताकता रिस पो उठ्न थाल्यो र निकै कडा स्वरमा भने, ”होइन यो मामाको फुस्क्यो कि के हो चोरेर नि पास गर्न सकिन्छ? पढेर पास गरें नि, के बहुला जस्तो यो मामा पनि”, ”लौ लौ राम्रै गरेछस, ल भन ,अब मेरो कुन चाहिँ छोरा संग बिहे गर्छ्स रोज्न दिँए रोज , घिउ दहि महि खुलाएर बलियो बनाछु तैंले जसरी भन्छ त्यसरी नै ठेल्छ” , वरपरका आइमाइहरु ”थुक्क मुर्दा भान्जी संग नि त्यस्तो कुरा गर्ने हो” भन्दै सराप्न थाले, मैले केहि भन्नै परेन पुग्दो भनीदिए, ल ठिक छ
भोली खुरुक्क हाम्रो घरमा आउने बुझीस, तेरो घरमा जस्तो मीठो मसिनो त पाक्दैन हेर, जे छ त्यहिं खाने बुझ्या हो , हुन्छ नि मामा म आउंला नि भनें!!!!

भोली जस्तोमा मामाकोमा जाँदै थिंयौ , अर्को फूपू पर्ने भेट्यौं ,”ल नानी भोलि मेरोमा आउनु पर्छ है ,बिहानको खाना खानलाइ” मैले हुन्छ भनें,”देखिस त फलानी, गाउँ र शहरमा कती फरक छ, तंलाई त यहां दुई चार महिना आनंदले पाली दिन्छ्न” काकाले भन्नु भो !!!

ओइ हेर त हाम्रो घरमा को मान्छे आछ , माइजु बाहीर निक्लनु भयो, ”आमै नानी पो रैछ अनि आमा बाबालाइ भाइहरुलाई कस्तो छ”? ”सबै सन्चै छ्न माइजु ,बरु माइजुको खुट्टा के भो किन खन्च्याङ खन्च्याङ गर्दै हिंडनु हुंदैछ”, ”तेरो माइजुलाई के हुनु नि हिजो अलि बढि देको थिंए त्यसैको नतिजा हो यो, फेरि जम्मा भएका वल्लो घरे पल्लो घरे आइमाइहरुले भन्नु नभन्नु भनेर मलाई सजिलो बनाइदिए,आशिर्वाद नि भन्नै नमिल्ने खै के खै के !!!

फुपुले बोलाको समयमा हामी फुपुको घरमा पुग्यौं, खन्डे थालमा कती मिठो चामलको भात सुकुटि फ्राइ,
गोलभेंडाको अचार आदि इत्यादी, खिर त्यस्तै मीठो, बिचरा बिहानै भोटे ओडार पुगेर किनमेल गरिवरि पकाउनु भाको रैछ , कती दिन पछिको त्यस्तो स्वादीलो खाना खान पाइएको कहां छोड्थें र सफाचट पारें !!!!

जता गएनी डांडामा नै आँखा ठोक्किने बाटो घाटोको कुनै सुबिधा नै थिएन, गुरुङ्ग कुराबाट पुंजो भन्दा रैछन लम्जुङलाइ ,”लम्जुङ रैनस भुम्लीचोक” बिकासको हिसाबले अती नै विकट तर प्राकृतिक सुन्दरता भने बर्णन गरिनसक्नु सार्है नै मनमोहक ,अहिले त हिंडनै पर्दैन रे हाम्रो बाबाले दान दिनु भाको जग्गामा बनेको ठुलो हाइ स्कुल सम्म नै गाडी पुग्दो रैछ !

एक हप्ता बिताएर गाउंबाट फर्किने क्रममा
जब अंतीम डांडा काटियो ,नाकै छुने त्यो डांडा माथी पुन दृष्टिवर्षा गर्दै ,अब आइन्दा फर्किन्न भनेर नमस्ते नै गरें , जिवन भरीको हिंडाइ शायद त्यहिं नै हिंडिएछ क्यार, पर्स भेटिएछ फुपुले दिनु भो , हेरेको आधी भन्दा बढि खर्च गरिसकिएको रैछ , जे होस पैसा नै बोकेर गाको भएनी किनी खाने पसल एउटै थिएन , अलि खल्लो लागेको चाहिँ नाच गान गर्ने मान्छेको मन बुझाउन सकिएन , गाउंमा पुगेर नि नाचगान हेरियो तर पैसा दिने बेला उहि गती !

Leave a Reply

Your email address will not be published. Required fields are marked *